Skip to main content
Last Day of Monday Pooja 2024
Start Date:

|| :सोमवारे व्रतंकार्यं श्रावणे वैयथाविधि:। शक्तेनो पोषणं कार्यमथवा निशि भोजनम् " अपुत्रो लभते पुत्र निर्धनोधनवान् भवेत्। अविधो लभते विधा इति धर्म विदो विदु: ||

यहि July 22nd, 29th, August 5th र 12th श्रावणे सोमबार हरु, श्रावण महिनाभर यस हिन्दु बुद्ध मन्दिर परिसरमा "श्रावणे सोमवारे व्रतम् तथा रुद्राभिषेक विशेष पूजा कार्यक्रम" को आयोजना गरिने हुँदा सम्पुर्ण भक्तजन परिवारहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। साथै वेलुका आउने भक्तजनहरुका लागि धूपबत्ति र आरतिका लागि नियमित समय तालिका अनुसार नै गरिने जानकारी गराउँदछौं।

श्रावण महिना तथा साउने संक्रान्तिको जानकारी एवं धार्मिक महत्व !

विक्रम संवत् को आधारमा वर्षको चौथो महिना श्रावण महिना जसलाई हामी बोलिवचनमा साउन महिना पनि भन्छौं । प्रत्येक बर्ष वैशाख महिनामा सूर्य मेष राशिमा रहन्छन भने चैत महिनामा मीन राशिमा रहेका हुन्छन् । त्यसै अनुरुप श्रावणमा सूर्य कर्कट राशिमा रहने हुनाले साउनको पहिलो दिनलाई नै साउने संक्रान्ति अथवा कर्कट संक्रान्ति भन्ने गरिन्छ ।

सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशिमा प्रवेश (साउने संक्रान्ति) र मकर राशिमा (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यस दिन देखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणि गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दक्षिणायन आरभ्भ भई पुष महिनासम्म रहने गर्दछ ।सूर्यको दक्षिणायन प्रवेशको दिन साउनको संक्रान्तिदेखि पुषसम्मको अवधिमा हाम्रा ठूला ठूला मौलिक चाडपर्वहरु पनि आउने भएकाले पनि साउन महिनालाई चाडपर्व भित्र्याउने महिनाको रुपमा पनि लिने गरिन्छ ।

अर्को विशेष कुरा श्रावण महिना वर्षा ऋतु /बर्षायामसँग सम्बन्धित भएको हुँदा साउने संक्रान्तिको दिन काण्डारक पूजा गरेर लुतो फाल्ने पनि हाम्रो मौलिक परम्परा रहिआएको छ ।

श्रावण महिना भगवान शिवको उपासना गर्नका लागि विशेष रहेको हुँदा यस अवधिभरि प्रत्येक शिवालयहरुमा शिवपूजा तथा रुद्राभिषेक हुने गर्दछन् ।त्यसैले भगवान भोले बाबालाई मनमा ध्यान गरी पहेंलो कपडा लगाएर भगवान शिवको पञ्चाक्षरी मन्त्र(ॐ नमः शिवाय ) को जप गर्दै महिनादिनभरि वा प्रत्येक सोमवारका दिन शिव पूजा एवं शिवलिङ्गमा दुध,दही,घिउ,मह,चिनी र जलको धारा गर्नुपर्दछ ।
सोमवारको दिन विधिपूर्वक मन्दिरमा गएर रुद्राभिषेक वा जलधारा मात्र गर्नले पनि सुख,शान्ति ,ऐश्वर्य तथा शिवकृपा प्राप्त हुने हाम्रो धार्मिक मान्यता एवं जनविश्वास रहिआएको छ ।

शास्त्रमा भनिएको पनि छ,

सोमवारे व्रतं कार्यं श्रावणे वै यथाविधि ।
शक्तेनोपोषणं कार्यं अथवा निशि भोजनम् ।।
अपुत्रो लभते पुत्रान्निर्धनो धनवान् भवेत् ।
अविद्यो लभते विद्यामिति धर्मविदो विदुः।।

विगतका वर्षहरुमा गरे जस्तै यस वर्ष पनि श्रावण महिनाको सोमवारका दिनहरुमा हिन्दु बुद्ध मन्दिरमा गुरुहरुबाट शिवपूजन,रुद्राभिषेक पाठ , जलधारा एवं प्रसाद वितरणको कार्यक्रम रहेको यहाँहरु सबैलाई सहर्ष जानकारी गराउँदछौं ।

व्रत लिनुभएका दर्शनार्थी भक्तजनहरुका बिहान 7:00 बजेदेखि साँझसम्म नै मन्दिर खुल्ला रहने छ ।

हरेक सोमवार मन्दिरमा आयोजना हुने विशेष पञ्चामृत स्नान सहित रुद्रीपाठ तथा ग्रहशान्ति कार्यक्रममा कर्ता बस्न इच्छुक भक्तजनहरुले समयमा नै नाम टिपाई स्थान सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

नोट

कर्ता भएर गरिने रुद्रीपाठ तथा जलधारा समय: बिहान 10:00 देखि 12 बजेसम्म

हजुरहरु (सर्वसाधारणहरु) कर्ता भई रुद्रीपाठ,पुजा, र जलधारा गराई विशेषपुजा गर्नेहरुकोलागी यहाँहरुले अघिल्लो दिनमानै सुचना गराउनु पर्नेछ ! तर सामान्य पुजा जलधार टिका पर्सादको लागी भने मन्दिर पुरा दिन खुल्ला रहनेछ !

सोमवारको दैनिक कार्तालिका
मन्दिर खुल्ने : बिहान 7:00 बजेबाट
बेलुका 8:00 बजेसम्म ।

साँझ भजन कीर्तन: 6:00 देखि 7:00 बजेसम्म ।

आरती पुष्पाञ्जलि : साँझ -7:00 बजे । आरती पछि प्रसाद वितरण गरिने छ ।

बिशेष सूचना

सोमवार बाहेक श्रावण महिनाका अन्य दिनहरुमा घर वा मन्दिमा नै रुद्रीपाठ तथा ग्रहशान्ति गराउन इच्छुक भक्तजनहरुले गुरुलाई फोन सम्पर्क गरी दिन तय गर्नुहुन अनुरोध गर्दछौं ।

थप जानकारीका लागि सम्पर्क

  • Krishna Hari Ghimire
  • Yogendra Raj Parajuli
  • Shreekrishna ReGmi
  • Tarun Poudel
  • Srijan Tamrakar
  • Anjita Shrestha
  • Neeru Thapa